काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र सीपलाई प्रवद्र्धन गर्न आग्रह गरेका छन् । नेपालको ठूलो जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनु परेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको बाहुल्य रहेको उल्लेख गर्दै उनले स्वदेशमा नै पर्याप्त तालिमको व्यवस्था गरी रोजगारी प्रवद्र्धन गर्न सकिने बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा काम गर्नका लागि पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिए । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने सीप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झन्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएका छन् । जसबाट ठूलो धनराशि बिदेसिँदै आएको छ । व्यवसायीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्यूआर कोड’ लागू गर्नसमेत जोड दिए । अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अव्यावहारिक भएको उल्लेख गर्दै सुनचाँदी व्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न उनले आग्रह गरे ।
सुनचाँदीको क्षेत्रमा ठुल्ठूला कारोबार हुने गरेको भए पनि अझैसम्म पनि यस्तो कारोबार परम्परागत प्रविधिअनुरूप नै हुने गरेको छ’, उनले भने, ‘समयसापेक्ष रूपमा कारोबार प्रणालीमा परिमार्जन ल्याउन आवश्यक छ ।’
सुनचाँदी व्यवसायीले अगाडि सारेका मागबारे आफू सकारात्मक रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सम्भव भएसम्म माग पूरा गराउन राष्ट्र बैंक तयार रहेको बताए । उनले सुनको आपूर्ति विदेशी मुद्राको सञ्चितिसँग सम्बन्धित रहेको उल्लेख गर्दै बजारको मागअनुरूप त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको बताए ।
उनले तोकिएका नाकाबाट पनि सरल र सहजरूपमा सुन वितरणको व्यवस्था मिलाउन १५ दिनअगावै सिफारिसबिना नै सुन बिक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रण गर्न, आपूर्तिमा लागू हुँदै आएको कोटाको सीमा पुनरावलोकन गर्न र व्यवसायीले उठाएका अन्य जायज मागको सम्बोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए ।
त्यस क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसाय सञ्चालनका दौरानमा आइपरेका समस्या जानकारी गराउँदै तिनलाई हल गर्नका लागि पहल गर्न आग्रह गरे ।
उनले व्यवसायीलाई परेका समस्या समाधान गर्न राष्ट्र बैंकको अहं भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गरे । गभर्नर अधिकारीसँगको भेटका क्रममा महासंघका विभिन्न पदाधिकारीको सहभागिता थियो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar