वीरगञ्ज । देशभर लकडाउन चलिरहेको समयमा ०७६ चैत २९ गते वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि फैलिएको कोरोनाले पछि वीरगञ्ज देशकै पहिलो कोरोना हटस्पटको रुपमा चिनियो । २०७७ साउनसम्म आइपुग्दा वीरगञ्जमा दिनदिनै मृत्युका घटनाहरु पनि भए । संक्रमणबाटै ५३ जनाको मृत्यु भयो । तर विस्तारै संक्रमण शून्यमा पनि आयो ।
आइतबार वीरगञ्जमा पहिलो कोरोना संक्रमित भेटिएको एक वर्ष पुगेको छ । र अब फेरि कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण घटेसँगै मानिसहरुले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुनेजस्ता स्वास्थ्य सावधानी अपनाउन छाडेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा चैत २३ गते २८ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमितमध्ये १ जना बाराका र अरु वीरगञ्ज महानगरपालिकाका थिए ।
चैत २४ गते ३४ जनाको पीसीआर परीक्षण गराउँदा १३ जनामा संक्रमण पुष्टि भयो । संक्रमितहरुमा १० जना पर्सा, २ जना बारा र १ जना सर्लाहीका थिए ।
चैत २५ गते ३४ जनाकै पीसीआर परीक्षण हुँदा १५ जनामा संक्रमण पुष्टि भयो । उनीहरुमधये १३ जना बाराका, पर्सा र मकवानपुरका १/१ जना थिए ।
चैत २६ गते २७ जनाको स्वाब परीक्षण गर्दा ९ जनामा, २७ गते ३६ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना देखिएको छ ।
पछिल्लो ५ दिनमा नारायणी अस्पतालमा गरिएको परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमा पर्सा, बारा र केहि अन्य जिल्लाका मानिस पनि छन् ।
आइतबार ६० जनाको परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना पर्साका र ५ जना बाराका रहेका छन् ।
पछिल्लो समय देखिएको संक्रमितमध्ये अधिकांश बालबालिका, किशोर किशोरी र युवा उमेर समूहका छन् । उमेर समूह हेर्दा १४ देखि ४५ वर्ष उमेर समूहका बढी संक्रमित छन् । घर बाहिर बढी हिँडडुल गर्ने, विद्यालय, कलेज, बजार तथा विभिन्न रोजगारी प्रयोजनमा भिडभाडमा पुग्ने समूहमा संक्रमण बढी देखिएको छ ।
कोरोना संक्रमण घट्न थालेपछि सर्वसाधारणले मास्क लगाउन छोडेका छन् । विद्यालय, कलेजहरु पूर्ण रुपमा खुलिसकेको, सार्वजनिक यातायात चलिसकेको, सार्वजनिक स्थलहरुमा अत्यधिक भिडभाड भइरहेको र मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता सुरक्षाका उपायहरुको अवलम्बन नभएकाले फेरि संक्रमण फैलिने जोखिम छ ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास कोरोना विस्तारै समुदायमा फैलिरहेको संकेत मिलेको बताउँछन् । ‘कोरोना विस्तारै समुदायमा फैलिएको देखिन्छ, जति पनि संक्रमित आइरहेका छन्, युवा अवस्थाका बढी छन्’ उनले भने ।
उनका अनुसार परीक्षण गराउनेमा लक्षण देखिएर आउनेहरु बढी छन् । ‘पीसीआर गराउने अधिकांशमा लक्षण देखिएको हुन्छ । प्रायः खोकी र ज्वरो आएपछि पीसीआर गराउन आउँछन्’ डाक्टर दासले भने ।
विगतमा कोभिड महामारीमा रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सक उदयनारायण सिंह होली पर्वका बेला कोरोना भाइरस समुदायमा पुगेको बताउँछन् । ‘कडा लक्षण भएका मानिस मात्रै अस्पताल आएका छन्, यो संक्रमितको १० प्रतिशत मात्रै हो भन्ने हाम्रो अनुमान छ’ उनले भने ‘बाँकी ९० प्रतिशत समुदायमै छन्, अरुलाईसारिरहेका छन् । परीक्षणको दायरा नबढाएका कारण मात्रै संक्रमित कम देखिएको हो ।’
उनले विगतमा जस्तो संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ राम्रोसँग हुन नसकेको समेत बताए ।
वीरगञ्जमा पछिल्लो ५ दिनमा ५ जनाको आकस्मिक रुपमा मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या देखिएर अस्पताल आएका उनीहरुको एडभान्स अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर र नारायणी अस्पतालमा मृत्यु भएको छ । तर उनीहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छैन । उनीहरुको कोभिड निमोनियाका कारण मृत्यु भएको हुन सक्ने डा. सिंहको अनुमान छ ।
कोभिड संक्रमिको उपचारका लागि नारायणी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिएको छ । आईसीयु र एचडीयू सुविधासहित ४० बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । कोभिड वार्डमा दुई जना संक्रमित भर्ना भएका छन् ।
नाका अझै अव्यवस्थित
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दिनहुँ बढिरहे पनि सीमा नाकामा सावधानी अपनाइएको छैन । वीरगञ्ज नाका हुँदै दैनिक हजारौं मानिस नेपाल भित्रने गरेका छन् ।
भारतबाट आउनेहरुबाट कोरोना भाइरसको नयाँ प्रकार भित्रिने सम्भावना छ । सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा महानगरपालिकाले ४ जना स्वास्थ्यकर्मी खटाएको छ । उनीहरुले २ सिफ्टमा काम गर्ने भएकाले धेरै मानिसको परीक्षण हुन सकेको छैन । हेल्थ डेस्कमा थर्मल गनले तापक्रम नाप्दै आएकामा चैत २३ गतेदेखि एन्टीजीन परीक्षण गर्न थालिएको छ ।
हालसम्म १ सय ४७ जनाको एन्टीजीन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुउल्लाह हवारी बताउँछन् । उनले भने ‘दुई जनालाई भारतीय पक्षसँग समन्वय गरेर फिर्ता पठायौं, सिन्धुलीका एकजनालाई जिल्लामा समन्वय गरेर पठायौं ।’
सीमा नाकामा पर्याप्त सावधानी नअपनाउने हो भने वीरगञ्ज मात्रै नभएर सीमावर्ती जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढ्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउने निर्णय गरेको छ ।
‘जनस्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइपूर्वक पालना गराउने, सम्बन्धित पालिका, सेवा प्रदायक संस्था सबैले पालना गराउने, पालना नगर्नेलाई कारबाही गर्ने निर्णय गरेका छौं’ प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अनलाइनखबरलाई बताए ।
त्यसैगरी बैठकले कोभिडका संक्रमितको उपचारका लागि नारायणी अस्पताल र निजी अस्पतालले आवश्यक बेड तयारी अवस्थामा राख्ने, सीमा नाकाको हेल्थ डेस्कमा चेकजाँच र अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
स्थानीय तहले प्रत्येक वडामा आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने, भारत र अरु मुलुकबाट आएकाहरुले अनिवार्य १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्नुपर्ने निर्णय पनि डीसीसीएमसीले गरेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar